काठमाडौं : ‘२१ औँ काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)’ सकिएको छ ।
इटालियन निर्देशक ब्रान्डो क्विलिची निर्देशित ‘द टाइगर्स नेस्ट’ को एसिया प्रदर्शनी (प्रिमियर) सँगै शुरु भएको महोत्सवमा २२ देशका ६० चलचित्र प्रदर्शन गरिएको किम्फका अध्यक्ष रम्यता लिम्बूले जानकारी दिए ।
महोत्सवमा ‘नेपाली पानारोमा’अन्तर्गत चलचित्रतर्फ विशेष उल्लेख (स्पेसल मेन्सन्स) मा ‘द मोङ्क एन्ड द रेबेल’ र ‘हावाम्यान’ तथा नियमिततर्फ ‘दुविधा’ र ‘नेपाली फिक्सन’ विजेता घोषित भए । यस्तै, वृतचित्रतर्फ विशेष उल्लेखमा ‘रोङफामु’ र ‘वाग्गिङ टेल’ तथा नियमिततर्फ ‘धेय ड्रिम्स’विजेता घोषित भए ।
यस्तै, ‘इन्टरनेसनल सर्ट फिक्सन’ अन्तर्गत विशेष उल्लेखमा ‘नथिङ ग्रोज अन्डर द पाइन ट्रि’ र ‘स्प्लिट इन्ड्स’ तथा नियमिततर्फ ‘एड्जस्टेमन्ट’ विजेता घोषित भए । ‘इन्टरनेसनल फिचर फिक्सन’ अन्तर्गत ‘अ चाइल्डलेस भिल्लेज’, ‘इन्टरनेसनल सर्ट डकुमेन्ट्री’अन्तर्गत विशेष उल्लेखमा ‘इटर्नल फ्लेम’ र ‘फरवार्ड’ तथा नियमिततर्फ ‘क्लाइम्बिङ फर गोल्ड’ विजेता घोषित भए ।
‘फिचर डकुमेन्ट्री’तर्फ विशेष उल्लेखमा ‘इन टु द हार्ट अफ माउन्टेन’, ‘यम्नुस्का ः द र्याग्ड एज’, ‘क्विनडम’ र ‘अगेन्स्ट द टाइड’ सँगै नियमिततर्फ ‘रिओ रोजो’ विजेता घोषित हुँदा ‘अडियन्स च्वाइस अवार्ड’ भने ‘म अलप हुन चाहन्छु’ ले जित्न सफल रह्यो ।
अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट ‘फिचर वृत्तचित्र’ लाई एक हजार पाँच सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट ‘फिचर कथानक’लाई एक हजार पाँच सय डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरियो ।
‘नेपाल पानोरमा’ अन्तर्गत सर्वाेत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रलाई एक लाख रुपैयाँ प्रदान गरियो । दर्शकको भोट पाउने वृत्तचित्रले एक लाख रुपैयाँ पुरस्कार राशि रहेको ‘अडियन्स च्वाइस अवार्ड’ प्राप्त गर्यो । निर्देशक र निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्तस्की (स्वीट्जरल्यान्ड) निर्णायक मण्डलको रुपमा रहनुभएको महोत्सवमा ‘माउन्टेन्स म्याटर : अ कल फ्रम द हिमालयज’ र ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकमा सामूहिक छलफलको आयोजना गरिएको थियो ।
महोत्सवमा समकालिन नेपाल, एसिया र विश्वभरकै हिमाली जनजीवन, जलवायु परिवर्तन, लैङ्गिकतालगायत विविधताले भरिएका चलचित्र तथा वृतचित्र सहभागी थिए । महोत्सव प्रदर्शनी मार्गको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि हिजो २० गतेसम्म सञ्चालन भएको थियो ।