ललितपुर । ललितपुर महानगरपालिका वडा नं १४ का सहयात्राको आयोजनामा २५ दिने योग शिविर कार्यक्रम भएको छ ।
उक्त वडाको आर्थिक सहयोगमा गत जेठ ५ गतेदेखि सो वडाका सामुदायिक तथा संस्थागत विद्यालयमा योग कार्यक्रम भएको हो ।
सोका वडाध्यक्ष अमृतजंग महतले सानैदेखि बालबालिकामा योगको संस्कारलाई विकास गर्नु आफूहरुको चाहाना रहेको बताएका छन् । उनले भने, “योगलाई कसरी संस्कारमा रुपान्तरण गर्ने भन्ने सोचमा हामी लागेका छौँ । हालको आधुनिक समयसँगै मानिसका हात हातमा भएको स्मार्ट फोन र वरिपरि भरिभराउ घरैघरका कारण आज मानिसले आफ्ना स्वास्थ्यमा खासै ध्यान दिएको देखिदैन । यी कुराबाट केही समय पर रहेर मानिसले स्वास्थ्य सुधारका काममा पनि लाग्नुपर्ने देखिएको छ ।” योगलाई हरेक उमेरका मानिसले दैनिक संस्कारमा ल्याए निरोगीका साथै तन्दुरुस्त बन्न सफल हुने महतको भनाइ छ ।
हरेक मानिसको जीवनमा योग तथा ध्यान र प्रणायामको उतिकै जरुरी रहेको बताउँदै महतले घरपरिवारका साथै समाज र राष्ट्रभर सोको चेतना व्यापक रुपमा फैलाउन जरुरी भएको दाबी गरे ।
वडाका दुई सामुदायिक विद्यालय महालक्ष्मी माध्यमिक विद्यालय र चोईना विणा गुरु गणेश आधारभूत विद्यालयमा सात सात दिन चलेको र सो वडाका अन्य ११ संस्थागत विद्यालयमा समेत केही दिन चलेको उक्त योग कार्यक्रममा थुप्रै बालबालिकाले भाग लिएका थिए ।
प्रशिक्षक अन्जु श्रेष्ठले वडाका १३ विद्यालयमा २५ दिन सञ्चालन गरिएको योग कार्यक्रमले विद्यार्थी भाईबहिनीमा निकै उत्साह देखिएको बताइन् ।
उक्त कार्यक्रममा सहयात्राका अध्यक्ष बि.एम आचार्य तथा सो वडाका वडा सदस्यहरु सानुकाजी तोलाङ्गे एवं संगीता अछामी, सहनसिला कार्की, कुवेर केसी, सनत कार्की रहनाका साथै महालक्ष्मी माविका शिक्षक राजेन राईगाई र चोईना विद्यालयका शिक्षक शान्ति प्रसाद सापकोटा आदि रहेका थिए ।
नेपालमा हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउनाका साथै हरेक जुन २१ दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइने गरिन्छ ।