काठमाडौं : विदेश पठाइदिने भन्दै तीन सय जनाभन्दा बढी व्यक्तिसँग झन्डै १५ करोड रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिकाका २८ वर्षीय राजकुमार भट्ट, कास्कीको माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षीय नवीन विक, कास्कीकै पोखरा महानगरपालिकाका २३ वर्षीय पवन पन्त र सोलुखुम्बुका ४६ वर्षीय नारायणकुमार खड्का रहेका कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए ।
उनीहरूले अमेरिका, कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायतका देशहरूमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विगत तीन/चार वर्षयता तीन सय जनाभन्दा बढी व्यक्तिसँग ५ देखि १० लाखका दरले १५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको एसएसपी भट्टराईले बताए ।
उनीहरूले फेसबुक म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेका थिए ।
पीडित नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूले नेपालमा काम दिने बहानामा केही एकाउन्टेन्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।