काठमाडौं । नेपालका अधिकांश लागूऔषध प्रयोगकर्ता १५ देखि २९ वर्ष उमेर समूहका रहेका बताइएको छ ।
लागूऔषध प्रयोगकर्ता तथा सो क्षेत्रमा कार्यरत राष्ट्रिय स्तरको महासंघ रिकभरिङ नेपालले आज आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया बैठकमा उक्त कुराको जानकारी गराइएको हो ।
सो महासंघका कार्यक्रम प्रबन्धक विकास गुरुङ्ले नेपालका अधिकाशं ७५ प्रतिशत भन्दा बढी व्यक्ति उक्त कार्यमा रहेका जानकारी गराए । उनले भने, “नेपालको जेलमा रहेका हरेक पाँच मध्ये एक जना लागूऔषधको विषयक सम्बन्धी छन् ।” लागूऔषध नियन्त्रण ब्यूरोले गतवर्षको असार देखि चैत मसान्तसम्म सो सम्बन्धी कसुरमा तीन हजार एक सय ५७ फौजदारी मुद्दाहरु अदालतमा दायर भएको जानकारी आफूहरुलाई गराएको गुरुङ्ले सुनाए ।
रिकभरिङका कार्यक्रम व्यवस्थापक राजु जोशीले लागूऔषध प्रयोग एक मानसिक स्वास्थ्य समस्या रहेको बताउँदै सोले व्यक्तिको मस्तिष्क र व्यवहारलाई असर गर्ने जिकिर गरे । उनले भने, “ हामीले यस समस्यालाई निराकरण गर्न आफ्नो स्थापनाकालदेखिनै यस औषध प्रयोगकर्तासँग प्रत्यक्ष सम्बन्ध राखी यस विषयक तथा एच.आई.भी र एड्स रोकथाम सम्बन्धी विभिन्न कृयाकलाप एवं जनचेतनामुलक कार्यक्रम र पौरवी गर्दै आइरहेका छौँ । रिकभरिङले २०६३ तथा २०६९ र २०७६ गरी तीन पटक सो विषयमा सर्वेक्षण गरी समाधानमा समेत ध्यान दिइरहेको जोशीको भनाइ छ ।
मुलुकमा सन् १९७६ मा पहिलो पटक लागूऔषध उपचार तथा पुर्नस्थापना केन्द्र सुरु भएको थियो । हाल सोको दुई सय ५० भन्दा बढी उपचार केन्द्रहरु गृहमन्त्रालयसँग आवद्ध भई राष्ट्रव्यापी रुपमा सञ्चालित भइरहेका उक्त महासंघको बुझाइ छ ।
नेपालमा लागूऔषध नियन्त्रण ऐन, २०३३ र लागूऔषध नियन्त्रण राष्ट्रिय नीति, २०६६ ले उक्त औषध प्रयोगलाई स्वास्थ्य समस्याको मान्यता दिएको छ ।
उक्त अवसरमा लागूऔषध उपचार तथा पुर्नस्थापना कार्यक्रम मदिरा र लागूऔषध प्रयोगकर्ताको उपचारका लागि सबैभन्दा सामान्य र मानक उपचार पद्धति रहेको एवं सो प्रयोग गर्नेलाई फौजदारी मुद्दा र दण्ड दिनु समस्या समाधान गर्ने प्रभावकारी रणनीति नरहेको मत व्यक्त गरिएको थियो ।
रिकभरिङ नेपालले गरेको सर्वेक्षण अनुसार प्रत्येक वर्ष पाँच दशमलव शुन्य ६ प्रतिशतले लागूऔषध प्रयोगकर्ताहरुको संख्या बढ्दै गइरहेको सूचना सार्वजनिक गरेको छ ।