काठमाडौँ : मधेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेश सभामा शनिबार विश्वासको मत लिँदैछन्।
विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।
सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। प्रदेश सभामा चौथो दलको रूपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो।
कुल १०७ सदस्य रहेको प्रदेश सभामा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका ९, माओवादी केन्द्रका ९ तथा एकीकृत समाजवादीका सात प्रदेशसभा सदस्य छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक-एक जना सदस्य छन्। कांग्रेस-एमालेसहित बनेको नयाँ समीकरणले आफूलाई विश्वासको मत दिने निर्णय भइसकेको मुख्यमन्त्री सिंहले बताए। साथै माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले पनि आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री सिंहले दाबी गरे।
कांग्रेस र एमालेबीच भएको नयाँ समीकरणको सहमतिमा ३-३ प्रदेशको नेतृत्व आफूहरुले बाँड्ने र मधेश प्रदेशको नेतृत्व अरु कुनै दललाई दिने समझदारी । तर जनमत पार्टीकै मुख्यमन्त्रीलाई निरन्तरता दिने नदिनेबारे भने सहमति भइसकेको छैन।