Skip to content

फ्रान्समा दक्षिणपन्थी पछि पर्दा वामपन्थी अगाडि

२०८१ असार २४, सोमबार
फ्रान्समा दक्षिणपन्थी पछि पर्दा वामपन्थी अगाडि

पेरिस :  फ्रान्सको संसदीय चुनावको दोस्रो चरणमा आइतबार भएको निर्वाचनमा आम अपेक्षा विपरीत वामपन्थी समूह सबैभन्दा अघि देखिएको छ ।

पहिलो चरणको निर्वाचनमा घोर दक्षिणपन्थी अघि थियो ।

अहिलेसम्मको नतिजामा वामपन्थी समूह न्यू पपुलर फ्रन्ट १८२ सिटका साथ सबैभन्दा अघि देखिएको छ । दोस्रोमा राष्ट्रपति इम्यानुएल म्याक्रोको मध्यमार्गी गठबन्धन एनसेम्बल अलाइन्सले १६८ सिटका साथ प्रतिस्पर्धामा देखिएको छ । पहिलो चरणमा सबैभन्दा अघि देखिएको नेसनल र्याली १४३ सिटका साथ तेस्रो स्थानमा पुगेको छ ।

एक्जिट पोलमा घोर दक्षिणपन्थी नेसनल र्‍याली तेस्रो स्थानमा पुग्ने अनुमान सार्वजनिक भएपछि राति पेरिसका सडकमा हजारौं मानिस खुसियाली मनाउन निस्किएका थिए ।

पहिलो चरणको निर्वाचनमा दक्षिणपन्थी पार्टी अघि देखिएपछि फ्रान्सका मध्यमार्गी र वामपन्थी पार्टीले दोस्रो चरणको निर्वाचनमा तालमेल गरेका थिए । दुवै समूहका २०० भन्दा बढी उमेदवारले उमेदवारी फिर्ता लिएर एक अर्कालाई सघाएपछि दक्षिणपन्थीको यात्रामा बिराम लागेको हो ।

दक्षिणपन्थी नेता २८ वर्षिय जोर्डन बर्डेला प्रधानमन्त्री बन्ने सम्भावनामा भने अब बिराम लागेको छ । पछिल्लो एक्जिट पोलपछि प्रतिक्रिया दिँदै उनले भनेका छन्, “गैरइमान्दारको गठबन्धनले हाम्रो पार्टीलाई सत्ताबाट टाढा लगेर फ्रान्सलाई कट्टर वामपन्थीको हातमा हालिदिएका छन् ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर