Skip to content

चालु खाता दुई खर्ब र शोधनान्तर स्थिति चार खर्बले बचतमा

२०८१ असार २६, बुधबार
चालु खाता दुई खर्ब र शोधनान्तर स्थिति चार खर्बले बचतमा

काठमाडौं : चालु आर्थिक वर्ष २०८०/०८१ मा चालु खाता दुई खर्ब ३९ करोड र शोधनान्तर स्थिति चार खर्ब २५ अर्बले बचतमा रहेको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार अघिल्लो वर्ष यस अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । शोधनान्तर स्थिति भने दुई खर्ब २४ अर्ब ९० करोडले बचतमा थियो ।

चालु आर्थिक वर्षको जेठ मसान्तमा चालु खाता एक अर्ब ५१ करोड अमेरिकी डलरले बचतमा रहेको हो । शोधनान्तर स्थिति तीन अर्ब २० करोड अमेरिकी डलरले बचतमा छ ।

पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई पाँच अर्ब ४६ करोड कायम भएको छ । प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब १६ करोडले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ३५ करोड थियो । त्यस अवधिमा वैदेशिक लगानी चार अर्ब ६५ करोड थियो ।

चालु खाता घाटाले अरू देशहरूबाट खुद सापटी लिइएको भन्ने बुझिन्छ । चालु खाता बचतमा रहे अरू देशहरूलाई खुद सापटी दिइएको बुझिन्छ ।

चालु खाता घाटा सुधार हुँदै जानुले हाल नेपालले अरू देशहरूबाट लिएको खुद सापटी घटाउँदै गएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार, निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।

शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ । घाटा भएमा विदेशी मुद्रा देशबाट बाहिर बढी गएको बुझिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर