Skip to content

मध्यम दूरीको आणविक हतियार उत्पादन पुनः शुरु गर्ने पुटिनको चेतावनी

२०८१ श्रावण १४, सोमबार
मध्यम दूरीको आणविक हतियार उत्पादन पुनः शुरु गर्ने पुटिनको चेतावनी

काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाले जर्मनी वा युरोपका अन्य स्थानमा क्षेप्यास्त्र तैनाथ गर्ने आफ्नो मनसाय पुष्टि गरेमा मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः शुरु गर्ने चेतावनी दिएका छन्। उनले अहिले रुसमा यस्ता धेरै प्रणालीको विकास अन्तिम चरणमा रहेको बताए।

‘यदि संयुक्त राज्य अमेरिकाले यस्ता योजनाहरूलाई कार्यान्वयन गर्छ भने हामी आफूलाई मध्यम र छोटो दूरीको आक्रमण क्षमताको तैनाथी पहिले अपनाएको एकपक्षीय रोकबाट मुक्त भएको मान्नेछौँ’, सेन्ट पिटसबर्गमा नौसैनिक परेडका क्रममा उनले भने।

पाँच सयदेखि पाँच हजार पाँचसय किलोमिटरको बीचमा मार हान्न सक्ने क्षेप्यास्त्रहरू सन् १९८७ मा अमेरिका र सोभियत संघले हस्ताक्षर गरेको हतियार नियन्त्रणसम्बधी सन्धिको विषय थियो।

तर वासिङ्टन र मस्को दुवैले सन् २०१८ मा मध्यम दूरीको आणविक बल सन्धिबाट फिर्ता लिए र एकअर्कामाथि उल्लंघनको आरोप लगाए। पछि रुसले संयुक्त राज्य अमेरिकाले विदेशमा क्षेप्यास्त्र तैनाथ नगरेसम्म यस्ता क्षेप्यास्त्रहरूको उत्पादन शुरु नगर्ने बताएको थियो।

जुलाईको प्रारम्भमा वासिङ्टन र बर्लिनले जर्मनीमा टमहक क्रुज क्षेप्यास्त्रसहित लामो दूरीको अमेरिकी क्षेत्रप्यास्त्रको ‘एपिसोडिक तैनाथी’ सन् २०२६ देखि शुरु हुने घोषणा गरे। रुसी राष्ट्रपतिले अमेरिकाले हालैका अभ्यासमा डेनमार्क र फिलिपिन्समा टाइफन मध्यम दूरीको क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको बताए।

शीतयुद्धको सम्झना 

‘यो अवस्थाले हामीलाई युरोपमा अमेरिकी पर्सिङ मध्यम दूरीको क्षेप्यास्त्रको तैनाथीसँग जोडिएको शीतयुद्धका घटनाहरूको सम्झना गराउँछ’, पुटिनले भने।

सन् १९८० को दशकमा शीतयुद्धको चरम अवस्थामा पश्चिम जर्मनीमा अमेरिकी पर्सिङ ब्यालेस्टिक क्षेप्यास्त्र तैनाथ गरिएको थियो। जर्मनी एकीकरण र सन् १९९० को दशकसम्म अमेरिकी क्षेप्यास्त्र तैनाथ भइरहे।

तर शीतयुद्धको समाप्तपछि मस्कोबाट खतरा कम भएकाले संयुक्त राज्य अमेरिकाले युरोपमा तैनाथ क्षेप्यास्त्रको सङ्ख्या उल्लेखनीय रूपमा कम गर्‍यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर