ललितपुर : अविरल वर्षाका कारण ललितपुरमा ७ ठाउँमा डुबान भएको छ । डुबानमा परेका २४ जनालाई प्रहरीले उद्धार गरेको छ ।
युएन पार्कबाट दुई जना, सुन्दरी घाटबाट ८ जना, बालकुमारी पुलबाट १ जना र महालक्ष्मी नगरपालिका–७ स्थित चागाँथलीबाट ७ जनाको उद्धार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए । सानेपा राम मन्दिरबाट ६ जना मानिस र ८ वटा बाख्रा उद्धार गरिएको छ ।
ललितपुरबाट ३ बालक, ८ महिला र १३ जना पुरुष समेत गरेर २४ जनाको उद्धार गरिएको एसपी सुवेदीले जानकारी दिए ।
गएरातिको अविरल वर्षाको कारण च्यासल स्थित एमालेको पार्टी कार्यालय र फुटबल मैदानमा पानी पसेको छ । ललितपुर महानगरपालिका–२ स्थित सानेपा हुँदै शंखमुल करिडोर सम्मको सड्कमा बागमती नदी पसेको छ ।
इमाडोल स्थित किष्ट अस्पताल र पवन प्रकृति स्कुल आसपासको क्षेत्र डुबानमा परेको छ ।