Skip to content

माटोसँग कला मञ्चन

२०८० आश्विन २३, मंगलवार
माटोसँग कला मञ्चन


सुभानु आचार्य
पाटन । सूक्ष्म जीवजन्तुदेखि ठूलाठूला प्राणीहरु तथा मानिसहरुले खाने अन्नबाली तथा फलफूल एवं तरकारी जस्ता खाद्यवस्तुहरुको उत्पादनका साथै मानिसहरुले लगाउने कपडाको स्रोत माटो हो । वर्षायामको बाढी कम गर्न पनि माटोले मद्दत गर्दछ । वातावरण शुद्धिकरणमा माटोको ठूलो भूमिका हुन्छ ।


मठ मन्दिर, पाटीपौवा जस्ता सांस्कृतिक धरोहरहरु जमिनमानै रहेका हुन्छन् । जलवायु परिवर्तन रोक्नमा माटोको अहम भूमिका हुन्छ त्यसैले माटो जन्म देखि मृत्युपछि सम्म चाहिने महत्वपूर्ण वस्तु हो ।


माटो प्राणीहरुको बासस्थानको आधार हो । रुखबिरुवा, घाँसपात जस्ता सबै किसिमका वनस्पतिहरुको आधार एवं उनीहरु हुर्कन तथा बढ्नका लागि आवश्यक पानीका साथै पौष्टिक तत्वहरुको स्रोत पनि माटोनै हो ।


त्यतिमात्रै होइन माटोबाट गमला, कप, प्लेट आदिको निर्माण हुन्छ । माटोको मूर्ति बनाएर कलाकार अरनिकोले नेपाल र चीनबीचको सम्बन्ध बनाएका थिए भने युद्धकालमा कमेरो माटो खाएर युद्धमा योद्धाहरु लागि परेका कुरा पनि हामीले यदाकदा सुन्ने गरेका छौँ ।


मानिस बस्ने घरहरु, औद्योगिक उत्पादन तथा बन्द व्यापार गर्ने भवनहरु । एक स्थानबाट अर्काे स्थानमा पानी लैजान बनाइने नहरुहरु जस्ता इञ्जिनियरीङ् कार्यहरुको लागि आवश्यक निर्माण सामाग्रीहरुको स्रोत तथा यी पूर्वाधारहरुको आधार पनि माटो हो । यही माटोको महत्व र प्रयोगमा आज पाटन दरवार संग्रहालय केशवनारायण चोकको भित्र आँगनमा माटोसँग खेल्दै प्रत्यक्ष कला मञ्चन गरियो ।


मणी केशवनारायण मन्दिर पछाडिको आँगनमा सेतो व्यानर । व्यानर माथि एक डोको चिसो कालो माटो । माटो राखिएको एक आँगनको एक कुनामा जापानकी चित्रकार राइको सिमिजुले अर्काे कुनामा क्रोएसियाली चित्रकार इरिस पोलजान र यी दुई महिला भन्दा अगाडि कुनामा मारी तेराउची उभिइन । जब बज्ने कचौरा अर्थात “सिङगिङ बावल” को धुन आयो तब ती तीन महिला सुस्तरी सुस्तरी माटो भएको ठाउँमा आफ्ना पाइला बढाउँछन् ।

धुन बेला बेलामा बज्छ । ती महिला पनि बिस्तारै बिस्तारै आफ्ना खुट्टाको पाइला नाप्दै नाप्दै अघि बढ्छन् । चित्रकार राइको सबैभन्दा पहिला माटो राखिएको स्थानमा आइपुग्छीन् । उनी भुइँमा निहुरीएर उभिन्छीन् । त्यसपछि चित्रकार इरिस र तेराउची पनि राइको नजिकै आइपुग्छन् । सिङगिङ बावल आफ्नै गतिमा बजिरहन्छ । इरिस माटो नजिकै भुइँमा बस्छीन् त्यपछि तेराउची पनि माटो नजिकै भूइँमा आएर बस्छीन् । उनीहरु तीनै जना ठाडो भएर भुइँमा बस्छन् । तीनै जनाले आफ्नो हात सुल्टो पार्छन् । बावलको धुन बजिरहेको हुन्छ उनीहरु आइरहेका हुन्छन् । वरिपरि विभिन्न देशका विदेशी लगायत स्वदेशी बसेर सो प्रत्यक्ष कलाको मञ्चन गरिरहेका हुन्छन् ।


उनीहरु तीनै जना चित्रकारले आफ्नो हात माटोमा छिराएर माटो उठाउँछन् र त्यसलाई सुघछन् । त्यसपछि त्यो माटो हात हुँदै जीउमा दलछन् । बावलको धुन आइरहेको हुन्छ । उनीहरुले आफू नजिक रहेको चिसो माटो मुख हुँदै शरिरमा पर्ने गरी विस्तारै दल्ने र पोख्ने काम गर्छन् । उनीहरु आफ्नै सुरुमा हुन्छन् । धुनसँगै केही बेर माटोसँग खेली रहन्छन् । उनीहरुको भनाइमा आफू नजिक रहेको माटोलाई चलाउनु तथा आफूमा लगाउनु वा सुघनु भनेको “जीवित र निर्जीव चीजहरुसँग आत्मालाई मिलाउनु वा प्रकृतिसँगको स्पर्श प्राप्त गर्नु” हो भन्ने अर्थ प्रत्यक्ष मञ्चन गरिएको कलाले जनाउने उनीहरुको भनाइ थियो ।


माटोसँग चल्नु, खेल्नु, रमाउनु वा माटो चलाउँदा चलाउँदै उनीहरु ढल्छन् । सो क्रममा पृथ्वीमा ढल्नुले मानिसको जीवनलाई समेत इंगित गरेको थियो । जहाँ हरेक मानिस माटोमा जन्मिनछ् । माटोमा हुर्कन्छन् र अन्त्यमा माटोमानै बिलाउँछन् भन्ने भाव नाटकले दर्र्शाउथ्यो ।
मानिसको आत्मा बिस्तारै माटोबाट उत्पन्न हुन्छ ।

माटोमा रमाउँछ । जुन प्रत्यक्ष प्रदर्शनी कलाले मानिसको वास्तबीक जीवनलाई चित्रण गर्ने नाटकको मञ्चन तेस्रो अन्तराष्ट्रिय चित्रकला प्रदर्शनीको पाँचौ दिन अर्थात समापन कार्यक्रमको बीचमा प्रदर्शनी गरिएको थियो । अन्तर्राष्ट्रिय चित्रकलाका चित्रकारले सो पाँच दिनमा चित्रमात्रै कोरेनन् । चित्रकलाको कार्यशाला एवं प्रत्यक्ष कला प्रदर्शनी समेत आयोजना गरेका थिए ।


सो प्रदर्शनीको समाप्तिसँगै दर्शकहरुले माटोको महत्व एवं आवश्यकतालाई त्रेतायुगका राजा रामचन्द्रको पत्नी सिताको जन्म पृथ्वीबाट उत्पति भएको र अन्त्यमा पृथ्वीको आवहान गरी उनी पृथ्वीभित्र बिलिन भएको कुरालाई समेत जोडेर अर्थाउन सकिने तवरको थियो ।
माटोमा हरेक चिज निर्भर रहने । माटोले उत्पन्न गर्ने देखि लिएर नष्टसमेत गर्ने कुरा सो नाटक हेरेपछि दर्शक प्रतिक्रिया मार्फत पाइन्थ्यो ।


भगवान श्रीकृष्णले बाल्यकालमा खाएको माटोले नातामा मामा परेका कंश दानवको होस उडेको कुरा दर्शाउने भाव चित्रकारका सो प्रत्यक्ष कला प्रदर्शनीमा देखिन्थ्यो ।
जसरी चित्रकारले कोरेका चित्रले हरेक तवरको अर्थ दर्शाउँछ त्यसैगरी सो कला मञ्चनले पृथ्वीमा उत्पन्न र नष्ट हुने सम्पूर्ण भावको सन्देश दिन सफल भएको थियो ।
माटोबाट मानिसको जीवनमा आवश्यक पाँच तत्वको उत्पति हुनुका साथै ती तत्वको बिलिन समेत हुने गर्छ । जसरी संसारभर माटोको महत्व अथाहा छ त्यसैगरी चित्रकलाको महत्व र भाव पनि अथाह रहनुमा चित्रकारको दुई मत थिएन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर