Skip to content

लेबनानमा इजरायली आक्रमण : ३५ बालबालिकासहित ४९२ जनाको मृत्यु

२०८१ आश्विन ८, मंगलवार
लेबनानमा इजरायली आक्रमण : ३५ बालबालिकासहित ४९२ जनाको मृत्यु

काठमाडौं : लेबनानमा इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ४९२ पुगेको छ।

लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादका अनुसार यसमध्ये ५८ महिला र ३५ बालबालिका छन्।

‘लक्षित क्षेत्रहरूबाट हजारौँ परिवार विस्थापित भएका छन्’, अबियादले पत्रकार सम्मेलनमा भने। उनका अनुसार हिजबुल्लाह पेजर र वाकी-टाकीहरू विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए।

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध शुरु भएको थियो। यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरू हिंसामा तानिएका थिए ।

इजरायलले सोमबार दर्जनौँ आक्रमणमार्फत ३०० भन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ । हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ।

स्वास्थ्य मन्त्रालयले ‘बिहानदेखि दक्षिणी शहर र गाउँहरूमा इजरायली शत्रुको आक्रमण’ ले १८२ जनाको ज्यान लिएको र अन्य सात सय २७ जनालाई घाइते बनाएको’ बताएको छ। मृतक र घाइतेहरूमा बालबालिका, महिला र स्वास्थ्यकर्मी पनि छन्।

विश्व शक्तिहरूले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्ला दिनमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्ररूपमा सरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर