Skip to content

देश परिवर्तन गर्न सिंहदरवार छोडेर महायज्ञतर्फ मोडिएका बास्कोटा

२०८१ कार्तिक २२, बिहीबार
देश परिवर्तन गर्न सिंहदरवार छोडेर महायज्ञतर्फ मोडिएका बास्कोटा

काठमाडौँ : २०५२ साल असोज २७ गते नेपाली कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भयो। त्यही मन्त्रिपरिषदमा गृहराज्यमन्त्री थिए- दीपक बास्कोटा।पञ्चायतविरुद्ध लाग्दा जेलयात्रासम्म तय गरेका बास्कोटा २०५१ मा पाँचथरबाट चुनाव जितेर आएपछि सिंहदरवारस्थित गृहमन्त्रालयसम्म पुगेका थिए।

२०५३ फागुन २९ सम्म सिंहदरवारबाट देशलाई नियालेका उनै बास्कोटा यतिबेला भने राजनीतिमा निष्क्रियप्राय: छन्। आध्यात्मिक यात्रामा जुटेका उनी यतिबेला अतिरुद्रि महायज्ञको व्यवस्थापनमा खटिएका छन्। सहकारीको जरोकिलो केलाएका पूर्वमन्त्रीले राजनीतिलाई विश्राम गरेर धार्मिक/आध्यात्मिक गतिविधिमा आफूलाई तल्लीन गराएका हुन्।

जेलमा रहेकै बेला आफू अध्यात्मतर्फ मोडिएको उनको भनाइ छ। २०४६ सालको प्रजातान्त्रिक आन्दोलन सफल भएपछि जेलबाट निस्किएका उनले पहिलो सार्वजनिक वक्तव्यमा नै आफू अब आध्यात्मिक बनेको उनले बताएका थिए। ‘म आज जेलबाट निस्कँदा पूर्ण आध्यात्मिक भएर निस्किएको छु,’ जेल बसाइका क्रममा आफूमा आएको आध्यात्मिक परिवर्तनबारे उनले भनेको सम्झन्छन्, ‘आफ्नो व्यवसायमा पूर्णता प्राप्त गर्न चाहन्छ भने कम्तीमा पनि अध्यात्मको ज्ञान आवश्यक हुने रहेछ। आध्यात्मिक ज्ञान बिना कुनै पनि पेसामा पूर्ण सफलता प्राप्त गर्न सकिन्न।’

जेलबाट सुरु गरेको आध्यात्मिक ज्ञानको खोजीलाई खुला राजनीतिका क्रममा पनि उनले निरन्तरता दिए। ‘विस्तारै यसैको अध्ययनमा लागेँ। राजनीतिमा लागेर म मन्त्रीसम्म बनेँ। तर यहाँबाट केही गर्न सकिन्छ जस्तो मलाई लागेन,’ बास्कोटा थप्छन्, ‘केही परिवर्तन गर्न सकिएला जस्तो लागेन। त्यही भएर म आध्यात्मतर्फ मोडिएको हुँ। समाज परिवर्तन गर्नु, नेपाललाई समृद्ध बनाउँदै विश्वमा शान्ति स्थापना गर्ने महान् उद्देश्यले यसपालि काठमाडौँमा अतिरुद्री विराट महायज्ञ आयोजना गरिएको हो।’ कात्तिक २१ गते सुरु भएको महायज्ञ कात्तिक २५ गतेसम्म चल्नेछ।

२०५६ सालको आम निर्वाचनमा पनि उनी पाँचथरबाट उम्मेदवार बनेका थिए। तर २०५१ सालमा भन्दा ५ हजार बढी मत ल्याए पनि विजयी बन्न सकेनन्। यसै परिघटना उनको जीवनमा टर्निङ प्वाइन्ट बन्न पुग्यो- राजनीतिका पाइला पूर्णरूपमा अध्यात्मतर्फ मोडिए। दुई दशकभन्दा बढी समय पूर्णकालीन आध्यात्मिक अभियन्ता बनेका बास्कोटा हाल अतिरुद्री विश्वकल्याण विराट महायज्ञका संयोजक छन्। राजनीतिको त्यो उचाईबाट अध्यात्मको यो उचाइसम्मको यात्रा कसरी सम्भव भयो त?

नेपाली कांग्रेसका तर्फबाट २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा बास्कोटा निर्वाचित उनी प्रतिनिधि सभा सदस्य रहेकै अवस्थामा सन् १९९७ मा महर्षि महेश योगी (उनको जन्ममितिका विषयमा विभिन्न मत भएपनि निधन सन् २००८ फेब्रुअरी ५ मा भएको थियो) सँग भेट भयो। योगीसँगको सान्निध्यताले नेपाल महर्षि वैदिक फाउन्डेसन स्थापना गरे। त्यसयता उनी निरन्तर फाउन्डेसनमै क्रियाशील छन्। फाउन्डेसनकै आयोजनामा महायज्ञ सुरु भएको हो।

महर्षि महेश योगीले उनलाई आध्यात्मिक यात्रामा भरपुर सहयोग गरे। सन् १९७१ मा महर्षि महेश योगीले अमेरिकाको फेयरफिल्डमा विश्वविद्यालय सञ्चालनमा ल्याइसकेका थिए। यसको मूल उद्देश्य वैदिक ज्ञानका विषय खोजी गरी नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नु थियो। वैदिक कुरालाई विज्ञानसँग जोड्ने उद्देश्य यो विश्वविद्यालयको मूल नारा नै ‘हायर एजुकेसन फर हायर कन्ससनेस’ छ।

विश्वविद्यालयीय ज्ञानसमेतले बास्कोटालाई अध्यात्मको एकपक्षमा मात्र नभएर वैज्ञानिकतासँग जोड्न प्रेरित गर्‍यो। महर्षि महेश योगी आफैँ पनि भौतिक विज्ञान (फिजिक्स)को अध्ययनपछि अध्यात्मतर्फ मोडिएका थिए। गुरु ब्रह्मानन्द सरस्वती (सन् १८७१-१९५३) को सम्पर्कमा पुगेपछि महर्षि योगी अत्यात्मको यात्रामा निस्किएका थिए। उनै बह्मानन्द सरस्वती ज्योतर्मठका शंकराचार्यसम्म बन्न पुगेका थिए। भौतिक विज्ञानबाट अध्यात्ममा मोडिएका महर्षि योगीले राजनीतिमा एक तहको उचाइ बनाइसकेका बास्कोटालाई पनि अध्यात्मतर्फै तानिरहे।

महर्षि योगीको भनाइ बारम्बार सम्झन्छन् बास्कोटा। ‘विद्यमान राजनीतिक प्रणालीले विश्वशान्ति स्थापना गर्न सक्दैन। अब वैदिक ज्ञान र वैदिक प्रणालीले मात्रै विश्वमा शान्ति कायम गर्न सक्छ’ भन्ने उनको भनाइ बास्कोटाका लागि मूलमन्त्र बनेको छ। यद्यपि महर्षि योगीले यो निष्कर्ष निकाल्नुअघि हजार वर्षको विश्व राजनीतिमाथि अध्ययन गरेर यो निष्कर्ष निकालेका थिए। त्यसकै लागि आफू क्रियाशील रहेको उनको भनाइ छ। विश्वकल्याणका लागि आफू खटिइरहेकाले आफूले राजनीति नत्यागेको बरु स्वरूप परिवर्तन गरेको भन्नु उचित हुने उनको भनाइ छ।

बास्कोटा अध्यक्ष रहेको महर्षि वैदिक फाउन्डेसनले महायज्ञ मात्र लगाइरहेको छैन। दशकभन्दा बढी समययता देशका विभिन्न स्थानका गुरुकुलहरूलाई सहयोग गर्दै पनि आइरहेको छ। यसका लागि ९० वटा गुरुकुलमा ध्यानयोग र रुद्राभिषेकका कार्यक्रम हुँदै आएका छन्। ९० वटै गुरुकुललाई एकैठाउँमा जोडेर एकै समयमा एउटै संकल्प लिएर दैनिक रूपमा ध्यान र रुद्रिपाठका कार्यक्रम सम्पन्न हुँदै आएका छन्। यसका लागि फाउन्डेसनले नै ९० वटै गुरुकुलमा ध्यानशिक्षक पठाएको छ। रुद्रिपाठ गुरुकुलका विद्यार्थीले गर्दै आएका छन्। यसरी रुद्रिपाठमा लगाउने गुरुकुललाई यज्ञदक्षिणाका रुपमा फाउन्डेसनले आर्थिक सहयोग गर्दै आइरहेको छ।

‘हामीले ९० वटा गुरुकुलमा एकै समयमा एउटै संकल्प लिएर रुद्राभिषेक गराउँदै आएका छौँ,’ फाउन्डेसनले गुरुकुललाई गर्दै आएको सहयोगका विषयमा प्रकाश पार्दै बास्कोटाले भने, ‘संसारको जुनसुकै कुनामा रहेका हाम्रा यजमानबाट हामीलाई सहयोग प्राप्त हुन्छ। त्यसलाई नै हामीले व्यवस्थापन गरेर गुरुकुलमा पठाउँदै आएका छौँ।’ यसरी आएको रकम समाज कल्याण परिषदको स्वीकृतिमा हुने गरेको छ। यसले वेदको ज्ञान विस्तार गर्न पनि सहयोग पुगेको अनुभव आफूहरूले गरिरहेको उनले सुनाए।

फाउन्डेसनले ध्यानशिक्षकहरू पनि तयार पार्दै आएको छ। हरेक शुक्रबारदेखि ४ दिने आवासीय ध्यानकक्षा सञ्चालन हुँदै आएका छन्। ध्यानशिक्षक बन्नका लागि भने कम्तीमा ६ महिना आवासीय कक्षा लिनुपर्छ। यसरी उत्पादन भएका ध्यानशिक्षकले देशका विभिन्न स्थानमा पुगेर ध्यानकक्षा सञ्चालन गरी स्वस्थ समाज निर्माणका लागि योगदान गरिरहेको बास्कोटा बताउँछन्।

अमेरिकाको महर्षि इन्टरनेसनल युनिभर्सिटीले सञ्चालन गर्ने एकेडेमिक कोर्स सञ्चालनका लागि पनि फाउन्डेसनले सहयोग गर्दै आएको छ। यो विश्वविद्यालयका धेरै कोर्स निशुल्क हुने भएपनि केही कोर्ष सशुल्क हुने गरेका छन्। ‘विश्वविद्यालयले विभिन्न विषयमा विद्यावारिधिसम्मका कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनलाइन प्रणालीमा कक्षा हुने विषयमा नेपालमा नै बसीबसी विद्यार्थीले अमेरिकी डिग्री लिन सक्छन्,’ बास्कोटाले भने।

बास्कोटा यतिबेला अध्यात्ममा चिनिएपनि उनको अर्को पनि खासियत छ- सहकारी। राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष रहेका बास्कोटा २०४८ सालमा आएको सहकारी ऐनको मस्यौदा बनाउन भरपूर खटेका थिए। त्यही बेलादेखि सार्वजनिक, निजी र सहकारीको तीनखम्बे अर्थनीति नेपालले अंगीकार गरेको थियो। सहकारी ऐन बनाउन उनले गरेको योगदानको कदर हालसम्म पनि हुँदै आएको छ।

आजको ठूलो समस्यामा रूपमा रहेको सहकारी अपचलनको गुदी केलाउनेहरू बास्कोटाका कामसम्म पुग्नै पर्ने हुन्छ। केही समयअघि सांसद सूर्य थापाको संयोजकत्वमा बनेको सहकारीको रकम अपचलनसम्बन्धी छानबिन समितिले पनि बास्कोटासँग सुझाव मागेको थियो। राजनीतिलाई विश्राम दिएपनि आवश्यक पर्दा उनले देशको राजनीति र अर्थनीति निर्माण तथा निर्णय प्रक्रियामा भूमिका खेल्दै आएका छन्। उनको सोही भूमिकालाई कदर गर्दै विभिन्न स्थानका सहकारीलगायतका संस्थाहरूले बेलाबेालमा सम्मान पनि गर्दै आएका छन्।

बास्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ प्रकाशित छ। आफ्नो पुस्तकलाई उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामा समर्पण गरेका छन्। निष्ठाको यात्रामा हिँडदै गर्दा कुनै पनि काम असंभव नहुने आफ्नो मान्यतालाई उनले पुस्तकमा समावेश गरेका छन्। बास्कोटाले निष्ठाको यात्रा अझै नसकिएको उल्लेख गर्दै वैदिक नेपाल निर्माण अभियानमा आफू लागेको र पश्चिमी जगतसमेत वैदिक दर्शनमा आकर्षित भएको देखेर नेपाललाई वैदिक देशका रुपमा पुनस्थापित गर्ने विश्वास आफूमा रहेको विचार व्यक्त गरेका छन्।

कांग्रेसका पुराना नेता कुलबहादुर गुरूङले कालिम्पोङ घुमेर बास्कोटाले सहकारीका माध्यमबाट अर्गानिक चिया उद्योग स्थापना गरेको स्मरण गर्छन्। बास्कोटाले सहकारी क्षेत्रमा बास्कोटाको योगदान दीर्घकालसम्म स्मरणीय हुने बताउँछन् कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसी। सहकारी अभियन्ता मीनराज कँडेलले विसं २०७२ को संविधानमा तीनखम्बे अर्थनीतिमा सहकारीसमेत जोडिने गरी अभियान चलाउन पनि बास्कोटाले योगदान गरेको सम्झन्छन्। पुस्तकमा राजनीति, धर्म, सहकारी, शिक्षा, स्वास्थ्य, ध्यान, समाजसेवालगायतका विषय क्षेत्रमा बास्कोटाका अनुभव छन्। प्रांगारिक कृषि र वैदिक नेपाल निर्माणका लागि आफूले गरेका काम पनि उनले पुस्तकमा अटाएका छन्।

‘राजनीतिमा भोगेका सबै कुराको फेरिहस्त कृति (निष्ठाको यात्रा)मा राखिएको छैन। उनको जीवनको सक्रिय समय जसले राजनीतिलाई आस्था, विश्वास र श्रद्धासित जोडेर हिँड्यो त्यसको वास्तविक सन्दर्भलाई बास्कोटाले यसमा उतारेका छन्। सहकारीको अवधारणा, चियाखेतीको अवस्था, भावातीत ध्यान, योगप्रतिको आस्थालाई उनले कृतिमा सजिलो तरिकाले पोखेका छन्,’ वाल्मीकि विद्यापीठमा प्राचार्यको कार्यभार सम्हालिसकेका डा गणेशप्रसाद घिमिरेले बास्कोटाको पुस्तकको समीक्षामा लेखेका छन्, ‘यही पोखाइ सरल र सहज बनेर उत्रेको छ कृतिमा पनि ।

यही हो आस्था, विश्वास र श्रद्धाको परिणाम पनि। बास्कोटाको यो सक्रिय यात्रा कृतिमा डग्मगाएको छैन। आस्था र विश्वासको परिणामलाई गतिलो तरिकाले राखेका छन् दीपकले यो कृतिमा।’

नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा ५ दिनसम्म हुने अतिरुद्रि विराट महायज्ञ कार्तिक २१ गते (आज)देखि सुरु भएको छ। नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँको भृकुटीमण्डपमा महायज्ञ कात्तिक २५ गतेसम्म चल्नेछ। यसरी नेपालमा पहिलो पटक अतिरुद्रि महायज्ञ हुन लागेको बास्कोटाको दाबी छ।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष रहेका दीपकप्रसाद बास्कोटाका अनुसार महर्षि महेश योगी विस २०३१ सालमा पहिलो पटक नेपाल आएका थिए। त्यसकै ५० वर्ष पुगेको अवसरमा महायज्ञ आयोजना गरिएको हो। विश्व कल्याण तथा नेपालको समृद्धिका लागि महायज्ञ आयोजना गरिएको हो।

महायज्ञमा भावातीत ध्यान र सिद्धिसाधक १ हजार १११ आचार्य तथा पण्डितबाट रुद्रि पाठपारायण हुनेछ। प्राचीन यज्ञका विधि, निष्ठा र आस्थासँग सम्पन्न हुने अतिरुद्र महायज्ञले लोपोन्मुख यज्ञका विधि र निष्ठालाई पुनर्जागृत गराउने आयोजकको भनाइ छ।

फाउन्डेसनले नेपालका विभिन्न जिल्लामा रहेका गुरुकुलहरूका ब्राह्मण बटुकहरूद्वारा लामो समयदेखि नियमित रुपमा रुद्राभिषेक गराइरहेको जनाउँदै र त्यस्ता रुद्राभिषेकको जम्मा आवृत्ति संख्यामा प्रतिदिन एक महारुद्र (१२१ गुना ११ का दरले १३३१) पाठ गराइरहेको छ।

२०३१ मा महर्षि योगीले ५ सय थान टेलिभिजन सेट ल्याएर स्वयम्भूमा अस्थायी टावर जडान गरी रत्नपार्कमा गरेको प्रवचनलाई राजदरबार र सिंहदरबारबाटै सुन्न र हेर्न सक्ने व्यवस्था गरेका थिए। त्यसबेला नेपालमा टेलिभिजन खुलेकै थिएनन्। २०४२ मा नेपाल टेलिभिजन खुल्नुभन्दा ११ वर्षपहिले महर्षि योगीले यो काम सम्पन्न गरेका थिए। त्यसबेला २५ हजारभन्दा बढी मानिसलाई एअरफोनद्वारा मन्त्रदान पनि गरेका थिए।

नेपालको समृद्धि र विश्वकल्याण तथा शान्तिका लागि आफूहरूले महायज्ञ लगाइरहेको बताएका बास्कोटाले यसमा सहभागी भई विश्वकल्याणका लागि योगदान गर्न र पुण्य कमाउन सबैमा उनको आग्रह छ। महायज्ञमा कात्तिक २२ गतेदेखि २४ गतेसम्म तीनदिने वैदिक विज्ञान तथा आधुनिक विज्ञानको दोस्रो महासम्मेलन पनि हुनेछ। यस्तो सम्मलेन दिउँसो १ बजेदेखि ३ बजेसम्म हुने बास्कोटाले जानकारी गराए। यो महासम्मेलनमा वैज्ञानिकहरूले वैदिक विज्ञानका विषयमा प्रवचन तथा बहस गर्ने कार्यक्रम छ। मेलामा अर्गानिक कृषि तथा हस्तकला प्रदर्शनीसमेत रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर