Skip to content

गाजामा सहायता सामान बोकेका राष्ट्रसङ्घीय ट्रक लुटिए

२०८१ मंसिर ४, मंगलवार
गाजामा सहायता सामान बोकेका राष्ट्रसङ्घीय ट्रक लुटिए

काठमाडौं : गाजामा रहेका प्यालेस्टिनी शरणार्थीका लागि मानवीय सहायता सामग्री बोकेको संयुक्त राष्ट्रसङ्घको एक सय नौवटा ट्रक लुटिएका छन् ।

राष्ट्रसङ्घका ट्रकहरु गाजा प्रवेश गरेपछि हिंसात्मक तरिकाले लुटिएको प्यालेस्टिनी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

इजरायली सेनाले चालकलाई बन्दुक देखाएर ट्रक नियन्त्रणमा लिएका हुन् । देइर अल बलाह र खान युनिसमा संयुक्त राष्ट्रसङ्घको सहयोग प्राप्त आठवटा अन्न भण्डार हप्तौँदेखि कम क्षमतामा सञ्चालन भइरहेको बीबीसीको खबरमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार खाद्यान्नको चरम अभावका कारण धेरै भण्डार पूर्ण रूपमा बन्द भइसकेका छन् । खाद्यान्नको गम्भीर अभाव अझै विकराल हुने निश्चित रहेको भन्दै राष्ट्रसङ्घले मानवीय सहायतामा निर्भर रहेका २० लाखभन्दा बढी मानिसको जीवनलाई थप खतरामा पार्ने उल्लेख गरेको छ ।

इजरायली अधिकारीहरूले मानिसहरुको आधारभूत आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न र सहायताको सुरक्षित वितरणलाई सहज बनाउन अन्तर्राष्ट्रिय कानूनअन्तर्गत आफ्नो कानूनी दायित्वलाई बेवास्ता गरिरहेका गाजामा कार्यरत संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्लूए) को भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर