Skip to content

सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

२०८१ मंसिर ११, मंगलवार
सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ ।

कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा डाक्टर उपलब्ध नहुने गुनासो आएपछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कार्यालय समयमा डाक्टर बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर कडाइ गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।  लगत्तै मन्त्रालयअन्तर्गतकाे गुणस्तर मापन तथा नियमन महाशाखाले २४ वटा सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य व्यवस्था गरेर त्यसबारेको जानकारी पठाउन पत्राचार गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यालय समयमा डाक्टर तथा स्वास्थ्यका कर्मचारी नभएको गुनासा सम्बोधन गर्न हाजिरीलाई विद्युतीय बनाउने निर्णय भएको बताए । अनुगमन गर्दा नभएको पाइएमा कारबाही हुने उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले केही दिनअघि औषधीको मूल्य सबैले देख्ने गरी सार्वजनिक गर्न सबै सङ्घीय अस्पताल तथा मेडिकल कलेजलाई पत्राचार गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर