काठमाडौं : विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको उक्त बैठकले ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गरेको हो । छलफलका क्रममा समिति सभापति तुलसा कुमारी दाहालले बालबालिका सम्बन्धी ऐन २०७५ को कार्यान्वयन मापन सम्बन्धमा स्थलगत भ्रमण गर्ने विषयमा समेत छलफल भएको बताइन् । उनले दुई ठाउँमा स्थानीय भ्रमणको कुरा समेत राखिएको बताइन् ।
उनले भनिन्, ‘बालबालिका सम्बन्धी ऐन २०७५ को कार्यान्वयन मापन सम्बन्धमा स्थलगत भ्रमण गर्ने विषयमा छलफल भएको छ । दुई ठाउँमा स्थानीय भ्रमणको कुरा समेत गरेका छौं । कोशी र मधेश प्रदेशमा त्यसैगरी लुम्बिनी र कर्णाली प्रदेशमा अनुगमन गर्ने छौं । त्यसमा तीनवटा विषयवस्तु केन्द्रित रहने छौं । एउटा बालबलिकासँग छुट्टै छलफल गर्छौं । स्थानीय स्तरमा रहेका बाल क्लबमा रहेका बालबालिकाहरुसँग छलफल गर्नेछौं । बाल क्लबमा बालबालिकाको अवस्था के छ भनेर समेत छलफल हुनेछ साथै स्थानीय सरकारसँग पनि यो विषयमा छलफल गर्ने छौं ।’
साथै उनले महिला शिक्षा शाखा र स्थानीय सरकारले बनाएका ऐनका बारेमा समेत मध्यनजर गरेर छलफल गरिने बताइन् । उनले प्रदेश तहमा प्रदेश सरकारले बालबालिका सम्बन्धी कस्तो खालको नीति बनाएको छ र त्यो नीतिको कार्यान्वयनको अवस्था के छ भनेर बाल सहभागिताको विषमा छलफल गरिने समेत बताइन् ।