काठमाडौं : प्रकृतिका साथसाथै वातावरण संरक्षणका लागि पुराना कपडाको सदुपयाेग गर्नुपर्ने जोड दिइएको छ ।
महिला तथा बालबालिकाको लागि सामाजिक एवं आर्थिक कल्याणको कार्यगर्ने संस्था ‘सेवा नेपाल’ ले आज के एण्ड के इन्टरनेशनल कलेजमा आयोजना गरेको एक दिवसीय कार्यक्रममा वक्ताहरुले पुरानो कपडाको महत्वबारे जानकारी गराएका थिए ।
सो अवसरमा कार्यक्रम संयोजक पदम जोशीले विश्वभर मानिसले लगाएर फाकेको लुगाले दोस्रो ठूलो प्रदूषर्ण फैलाएको बताए ।
उनले भने, “यदि हामीले लगाएको लुगा आफूलाई सानो हुनासाथ अरुलाई लगाउन दिने वा घरायसी प्रयोजनका सामग्री बनाएर प्रयोग गर्ने हो भने यस्तोरुप दखिने थिएन ।” बजारमा पटक पटक आउने नयाँ नयाँ लुगाले वातावरणमा असर गर्ने गरेको बताउँदै उनले पुरानै लुगा बनाएर लगाउने हो भने प्रकृतिलाई सोको असर नपर्ने भनाइ राखे ।

पुरानो कपडाको संकलन र व्यवस्थापन गर्ने सुखावती स्टोरका बजार प्रबन्धक चित्र दाहालले विश्वव्यापी रुपमा एक प्रतिशत पुरानो कपडा अर्थात लुगा पुनः प्रयोगका लागि बनाइने गरेको बताए ।
उनले भने “तपाईहरु पुरानो कपडा मिल्काउनुको साटो हामीलाई दिनुहोस । हामी त्यसलाई मर्मतको काम गरी प्रयोगमा ल्याउनेछौँ ।” पटक पटक नयाँ कपडा खरिद गरी पुरानो कपडा मिल्काउदाँ प्रकृतिलाई कति असर गरिरहेको छ त्यो अब सम्पूर्ण मानिसले बुझ्ने बेला भएको दाहालको मत छ ।
“हामीले वार्षिक रुपमा १४ हजार पुराना कपडा फयाकिनबाट रोकेका छौँ । हामीसँग हालसम्म ३ हजार १ सय २२ जना पुराना कपडा दिने डोनर भइकेका छन । हाम्रो स्टोरबाट हालसम्म ५५ हजार ३ सय ७५ जनाले पुराना कपडा खरिद गरी प्रयोग गरिरहेका छन्”, उनले थपे ।

पुराना सामाग्री विक्री गर्ने पसल एफोर्डएवल थ्रिप्टस्टोर नेपालकी संस्थापक प्रथा बस्नेतले आफूले लगाएको पुराना लुगालाई मिल्काउनुभन्दा प्रयोगमा ल्याउनु उचित ठानेर आफ्ना कपडा बजारमा बिक्री गरी सोबाट कमाएको रु ३० हजारमा रु ५० हजार थप गरी पुराना कपडा बिक्रीको व्यवसाय सञ्चालन गरेको बताइन् ।
उनले भनीन्, “पुराना कपडा फयाक्दा प्रकृतिलाई भार पर्छ । हामी मानव भएर प्रकृतिलाई असर गर्ने कार्य रोक्नुपर्छ ।” तपाईहरु कसैसँग लगाउन मिल्ने लुगा छ तर ठिक हुँदैन भने आफूहरुलाई सम्पर्क गर्न बस्नेतले आग्रह गरेकी छिन् ।
कपडा भाडामा दिने पसल कपडा रेन्टका संस्थापक समुन्द्रराज अर्यालले आफूहरुले बिवाह तथा अन्य विभिन्न कार्यक्रममा प्रयोग गरिने कपडा भाडामा दिई मानिसको आर्थिक जोहोको साथै प्रकृतिको समेत संरक्षण हुने काम गरिरहेको सुनाए ।
उनले भने, “तपाईहरु कसैलाई विवाह आदि कार्यको लागि कपडा चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहोस । हामी सुपथ मूल्यमा तपाईहरुलाई आवश्यक लुगा दिएर खरिद गर्नुपर्ने झन्झटबाट मुक्त गर्नेछौँ ।”
फेसन डिजाइनर रचना श्रेष्ठले पुरानो कपडालाई आफूहरुको सहयोग मार्फत बनाएर पुनः प्रयोग गरी वातावरण जोगाउन लाग्नका लागि आग्रह गरिन ।
सो क्याम्पसका प्रधानाध्यापक बिमल खड्काले आफ्ना विद्यार्थीलाई आफूले हाल लगाएको क्याम्पसको पोशाक उतिर्ण भएर जाँदा अरुलाई प्रयोग गर्न दिई आर्थिकका साथै वातावरणमा पर्ने असरबारे ख्याल गर्न अनुरोध गरे ।
संस्थाकी संस्थापक अध्यक्ष कल्याणी शाहले आफूहरुले स्थापनाकालदेखिनै ग्रीन एक्सन वीकलाई मनाउँदै वातावरणको क्षेत्रमा समेत काम गर्ने गरेको जानकारी दिइन् ।
यसैगरी संस्थाका अध्यक्ष केशव लम्सालले आफ्नो संस्थाको सहयोगमा पुराना कपडाको व्यवस्थापन गरी त्यसलाई मिल्काउनबाट रोकी विभिन्न घरायसी प्रयोजनका सामग्री निर्माण गरी आर्थिकपार्जनको काम गर्न समेत सुझाव दिए ।
संस्थाकी सचिव समिता केसीले आफ्नो संस्था विगत ३१ वर्ष अघि स्थापना भएको एक गैर नाफामुखि संस्था रहेको जानकारी गराउँदै यसले विगत लामो समयदेखि वातावरण संरक्षण सम्बन्धी काम गर्दै आइरहेको बताइन ।
त्यसैगरी उक्त कार्यक्रममा पुराना कपडाबाट निर्माण गरिएका विभिन्न सामग्रीको समेत विक्री बितरण गरिएको थियो ।

