जनकपुर । नयाँ वर्षमा घुमफिर र मनोरञ्जन गर्न नयाँ ठाउँ जानेहरुका लागि मधेश प्रदेशको मुटु मानिने जनकपुरधाम घुम्नै पर्ने गन्तव्य हो ।
नयाँ वर्षमा पर्यटकीय स्थलका साथै धार्मिक दृष्टिकोणले एक पटक अवलोकन गर्नै पर्ने ठाउँहरुमध्ये जनकपुरधाम पनि प्राथमिकतामा पर्छ ।
५२ कुट्टि ७२ कुण्डको सहर जनकपुरधाम धार्मिक नगरीको रुपमा विश्वमै चिनिन्छ । झन देश संघीयतामा प्रवेश गरेदेखि यहाँ भएका भौतिक विकासले पर्यटकहरुकालागि आकर्षणको केन्द्र नै बनेको छ । ०८३ वर्षको आगमनसंगै जनकपुरधाम घुम्न आउनेहरुको संख्या एक हप्ता अघिदेखि नै बढेको छ ।
यि हुन घुम्नै पर्ने आठ गन्तव्यहरु
जानकी मन्दिर :राजा जनकको दरबार भनेर चिनिने जानकी मन्दिर जहाँको संरचनाले यहाँ आउने पर्यटक र श्रद्धालु भक्तजनहरुलाई प्रभावित बनाउने गर्छ । जनकपुरधाम आउने जोकोहीको पनि मनमा पहिला जानकी मन्दिर दर्शन गर्ने नै हुन्छ । जानकी मन्दिर विश्वमै परिचित छ । रामायणमा भगवान राम र माता सीताको विवाह प्रशंगसँग जोडिएको जानकी मन्दिर पर्यटकहरुको पहिलो रोजाई हो ।
मणिमण्डप :जानकी मन्दिरबाट करीब १५ मिनेट टाढा रहेको मणिमण्डप जनकपुरधामको मुजेलियामा रहेको छ । यो त्यही ठाउँ हो जहाँ भगवान राम र माता सीतको विवाह भएको थियो । मैथिली परम्परा अनुसार भएको विवाहमा बनाइएको बेदीस्थान अहिले पनि यथावत छ । सहरभन्दा अलि टाढा रहेको यो स्थानमा आउँदा छ्ट्टै शान्तिको अनुभूति हुन्छ । केन्द्र र प्रदेश सरकारले जनकपुरधामलाई वैवाहिक गन्तव्य बनाउने अवधारणा ल्याएको छ ।
जनक दरबार :वैवाहिक गन्तव्य बनाउने अवधारणाका साथ सरकारले मणिमण्डपको छेउमै जनक दरबार बनाएको छ । केही वर्ष अघिमात्र निर्माण भएको जनक दरबार मुख्यतः घुम्न आउने, सेल्फि लिने र विवाह समारोह गर्नका लागि उत्तम स्थल हो । यहाँ दैनिक हजारौं पर्यटकहरु भारत र नेपालका विभिन्न स्थानबाट आउने गर्छन ।
नोचा पोखरी : हुनत जनकपुरधाम पोखरीहरुको सहर भनेर पनि चिनिन्छ । सयौं पोखरीहरु भएको जनकपुरधाममा नोचा पोखरी सबैभन्दा ठूलो र शान्त ठाउँमा छ । विमानस्थल भन्दा १० मिनेटको दुरीमा रहेको नोचा पोखरी पुग्दा कुनै छुट्टै संसारमा पुगेको अनुभव हुन्छ । चारैतिर रुख र बिचमा सुन्दर पोखरी, पिकनिक मनाउन आउने, शान्त वातावरण खोज्ने, ध्यान गर्ने, फोटो÷भिडियो सुट गर्नेहरुको लागि यो पहिलो प्राथमिकतामा पर्ने स्थल रहेको छ ।
गंगासागर पोखरी : जनकपुरधामको केन्द्रमा रहेको गंगासागर पोखरीको ऐतिहासिक मान्यता रहेको छ । यहाँ हुने दैनिक गंगा आरती हेर्न प्रत्येक साँझ हजारौं पर्यटकहरुको भीड लाग्ने गर्छ । गंगासागर पोखरी छठ पूजाका लागि प्रसिद्ध छ भने यहाँको हरियो पानीमा नौकाविहार गर्न पनि सकिन्छ ।
धनुषाधाम :जनकपुरधाममा करिब ४५ मिनेट टाढा रहेको धनुषाधाम हरेक हिन्दू धर्मावलम्बिहरुले एक पटक पुग्नैपर्ने स्थान हो । रामायणमा सीता स्वयम्बरको बेला भगवान रामले तोडेको धनुषको एक टुक्रा यही स्थानमा छ । यो टुक्रा खसेको स्थानमा धनुष मन्दिर रहेको छ भने, धनुषको टुक्रा अहिले पनि जीवन्त अवस्थामा छ ।
जनकपुरको ट्रेन : नेपालको एक मात्र रेल, जनकपुरधाममै छ । दैनिक तीन पटक चल्ने रेलमा सवार भई एक पटक अनुभव गर्न भनेर मात्र यहाँ दैनिक देशका कुना कुनाबाट कयौं पर्यटकहरु आउने गर्छन । जनकपुरबाट भारतको जयनगर पुगेर फेरि फर्किन मात्र जम्मा तीन घण्टा लाग्ने यात्रा अविस्मरिणय मानिएको छ ।
भूतनाथ मन्दिर –स्वर्गद्वारी : जनकपुरधामको गंगासागर पोखरीकै छेउमा रहेको छ भूतनाथ मन्दिर । जसलाई स्वर्गद्वारी पनि भनिन्छ । यहाँ दैनिक कयौं शव जलाईन्छ ।
हुनु त शव जलाउने स्थलमा जान डर मानिन्छ तर जनकपुरधामको यस स्वगद्वारी भने पर्यटकहरुको आकर्षणको केन्दहरु मध्येको एक हो । स्वर्गद्वारी जति सफा, स्वच्छ र हरियाली भएको स्थान जनकपुरधाममा अन्यत्र छैन । यहाँको सरसफाई र बगैंचामा बस्दा विदेशको कुनै पार्कमा बसेको अनुभव हुन्छ । झन यहाँ रहेको भूतनाथको मन्दिर र भगवान शिव र पार्वतीको विशाल मूर्तिमा दर्शन गर्न र फोटो खिचाउने आउनेहरु भावुक हुने गर्छन ।







