Skip to content

धापाखेलमा बिहीबारदेखि जेष्ठ नागरिक सेवा केन्द्र निर्माणका लागि श्रीमद् भागवत सप्ताह सुरु हुदै

२०८२ चैत्र २५, बुधबार
धापाखेलमा बिहीबारदेखि जेष्ठ नागरिक सेवा केन्द्र निर्माणका लागि श्रीमद् भागवत सप्ताह सुरु हुदै

ललितपुर । ललितपुरको धापाखेलमा यही चैत्र २६ गते बिहीबारदेखि स्वर्णिम श्रीमद् भागवत सप्ताह भक्ति अनुष्ठान सुरु हुने भएको छ। ललितपुर महानगरपालिका वडा नं. २३ अन्तर्गतका टोल सुधार समिति, महिला समूह तथा विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा वडा कार्यालय परिसरमै सञ्चालन हुने उक्त कार्यक्रम बैशाख ३ गतेसम्म जारी रहनेछ।

वैदिक सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको यस अनुष्ठानमा आचार्य ओमप्रकाश सुवेदीले कथावाचन गर्नुहुनेछ भने मुमुक्षु उद्वव शर्मा हुमागाई संकल्पकर्ताको रूपमा रहनुहुनेछ। कार्यक्रमअन्तर्गत हरेक दिन बिहान ७ बजे पूजा आराधना, ८ बजेदेखि पाठपारायण र बिहान १०:४५ बजेदेखि साँझ ५:१५ बजेसम्म भागवत कथावाचन हुने आयोजकले जनाएको छ। साथै, दैनिक रूपमा दिव्य झाँकी प्रदर्शन र भक्ति संगीत प्रस्तुत गरिनेछ।

अनुष्ठानको पहिलो दिन भव्य कलश यात्रा निकालिनेछ भने अन्तिम दिन लक्ष्यदीप प्रज्वलनसहित सामूहिक व्रतबन्ध, विवाह, ग्रहशान्ति, तुलादान तथा १००८ शालिग्राम पूजा–अर्चना र परिक्रमा जस्ता विशेष कार्यक्रमहरू आयोजना गरिनेछन्।

कार्यक्रमका संकल्पकर्ता मुमुक्षु हुमागाईले आत्मिक शान्ति प्राप्त गर्न आत्मचिन्तन आवश्यक हुने उल्लेख गर्दै श्रीमद् भागवत श्रवणले मानिसलाई सकारात्मक ऊर्जा र मानसिक शान्ति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सबै श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई आध्यात्मिक लाभ लिन आग्रह गर्नुभएको छ।

यस अनुष्ठानबाट संकलित भेटी, दान तथा दक्षिणा जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्न प्रयोग गरिने आयोजकले जनाएको छ। वडा नं. २३ का अध्यक्ष जीवन महर्जनले वडावासीलाई एकताबद्ध भई कार्यक्रम सफल बनाउन आग्रह गर्दै यसले धापाखेलको पहिचान अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। सातदोबाटोबाट करिब दुई किलोमिटर दूरीमा रहेको धापाखेलमा हुने यस धार्मिक कार्यक्रमले व्यापक सहभागिता जुटाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर