सुर्खेत । कर्णालीमै पहिलो पटक जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ‘महिला अटो चालकहरुसँग ट्राफिक प्रहरी’ कार्यक्रम गरेको छ । महिला चालकहरुलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउन तथा महिला चालकहरुलाई ट्राफिक नियमबारे जानकारी दिन कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक मुकुन्दप्रसाद रिजालले महिला अटोचालकलाई खादा लगाएर सम्मान गर्दै उहाँहरुले गर्नु भएको सम्मानजनक कार्य र संघर्षलाई प्रोत्साहन गर्न ट्राफिक प्रहरी साथमा रहेको बताए । ‘तपाईंले संघर्षपूर्ण काम गर्दै आउनु भएको छ । हामी तपाईंको कामलाई उच्च सम्मान गर्दछौँ’ उनले भने, ‘महिला चालकप्रति हेर्ने सामाजिक दृष्टिकोण बदल्न पनि हामी तपाईंहरुकै साथमा छौँ ।’
ट्राफिक प्रहरी कार्यालयमा खादासहितको सम्मान र प्रोत्साहनले आफूलाई खुशी लागेको सुर्खेतका महिला अटो रिक्सा चालकले बताए । सधैं सडकमा बसेर अटोचालकलाई हैरानी दिन्छन् भन्ने बुझेका चालकहरुले सम्मान र हौसला पाउँदा खुशी लागेको बताए । विगत पाँच बर्षदेखि अटोरिक्सा चलाउँदै आएकी वीरेन्द्रनगर नगरपालिका–५ की सुस्मिता विकले ट्राफिक प्रहरीको सम्मानले आफ्नो पेशाप्रति गौरवको अनुभुती भएको बताईन् । ‘महिला अटोचालकलाई हेर्ने सामाजिक दृष्टिकोण त्यति राम्रो छैन’ उनले भनिन्, ‘राम्रो काम गर्नुभएको छ भनेर ट्राफिक प्रहरीले सम्मान गरेपछि खुशीको सिमा नै रहेन ।’
वीरेन्द्रनगर–५ की सुस्मिता बिको दैनिकी अटोरिक्सा चलाएरै बित्छ । यो पेशाले उनलाई जिविकोपार्जन भए पनि कहिलेकाहीँ यात्रुहरुले दिने हैरानीले भने दिक्क लगाउँछ । तीन वर्षदेखि अटोरिक्सा चलाउँदै आएकी उनले यात्रुले हेर्ने दृष्टिकोण राम्रो नभएको बताईन् । ‘अनावश्यक कुराहरु धेरै गर्न खोज्दा चाहिँ झ्याउ लाग्छ’ उनले भनिन्, ‘फोन नम्बर माग्ने, कहिलेकाही छुन प्रयास गर्ने लगायतका यात्रुका व्यवहारले हैरानी दिन्छ ।’
वीरेन्द्रनगर–३ की शान्ति बुढाले अधिकांशबाट मिलेको हौसलाले यही पेशामा भविष्य खोज्न मन लागे पनि थोरैको अपमानले पनि निराश बनाउने गरेको बताईन् । आफ्नो दैनिक जिविकोपार्जनका लागि अटोरिक्सा चलाउन सुरु गरेको बताउने उनले केहि यात्रुहरुको दुव्र्यवहार र विभेद सहनु परेको गुखेसो गरिन् । ‘व्यस्त सडक, ट्राफिक नियमको अव्यवस्था र जोखिमपूर्ण अवस्थासंगै केही यात्रुको दुव्र्यवहारले मन दुख्छ’ उनले भनिन् ।
सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक मुकुन्दप्रसाद रिजालले आफ्नो पेशामा देखिएका केही चुनौती र समस्या समाधाका लागि सहकार्य गर्ने भनेपछि महिला अटो चालक खुलेका थिए । उनीहरुको कतिपयले यात्रुबाट भएका हैरानी, रुटपरमिटले ल्याएको समस्या, ट्राफिक प्रहरी देख्दा डराउनुपर्ने बाध्यतालगायतका बिषयमा खुलेर कुरा गरेका थिए । व्यवसाय गर्दा पनि यात्रु, प्रहरी र समितिबाट सास्ती भोग्नुपर्दाको पीडा सुनाएका थिए ।
महिलाहरुको प्रश्न तथा गुनासो सुनिसकेपछि प्रदेश ट्राफिक प्रमुख एसपी रिजालले महिलाहरुको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रहरीबाट पनि सास्ती भोगिरहेको गुनासो महिलाहरुले गरेपछि उनले फिल्डमा खटिने प्रहरीहरुले महिला अटोचालकलाई गर्ने व्यवहार परिवर्तन गर्न निर्देशन दिए ।





