Skip to content

नागरिक एपमा जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्रसमेत उपलब्ध हुने तयारी

२०८३ बैशाख २, बुधबार
नागरिक एपमा जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्रसमेत उपलब्ध हुने तयारी

काठमाडौँ । राष्ट्रिय पञ्जीकरणसम्बन्धी विवरणहरूलाई नागरिक एपमा एकीकृत गर्ने प्रक्रिया अघि बढाइएको छ। सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार जन्म दर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद दर्तालगायतका पञ्जीकरण सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने काम प्रारम्भिक चरणमा पुगेको छ।

यस एकीकरणपछि जन्मदर्ता र विवाह दर्ताजस्ता महत्वपूर्ण प्रमाणपत्रहरू पनि नागरिक एपमार्फत उपलब्ध हुनेछन्। विभागले आवश्यक प्राविधिक तथा प्रणालीगत विकास कार्यहरू अघि बढाइरहेको जनाएको छ।

सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने लक्ष्यसहित नागरिक सेवाहरूलाई अनलाइन माध्यमबाट विस्तार गर्ने अभियानलाई तीव्रता दिएको छ। यसअन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जस्ता सेवाहरू पनि नागरिक एपमार्फत उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ।

त्यस्तै, नेपाल इन्जिनियरिङ परिषद्सँगको समन्वयमा व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार नागरिक एपलाई थप सेवासहित विस्तार गर्ने लक्ष्य राखिएको छ। यसअघि तोकिएको ४५ दिनभित्र सेवा विस्तार गर्ने योजना रहे पनि मन्त्रीको निर्देशनअनुसार काम छिटो सम्पन्न गर्ने तयारी भइरहेको विभागले जनाएको छ।

नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्न सकिने सुविधा भने हाल सञ्चालनमा आइसकेको छ।

सरकारले यस पहललाई डिजिटल शासन प्रणालीतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ। यसले सेवाग्राहीलाई समय, लागत र प्रक्रियागत झन्झटबाट राहत दिने तथा सरकारी सेवा प्रवाहलाई अझ पारदर्शी, प्रभावकारी र आधुनिक बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर