Skip to content

सर्वोच्च अदालतको आदेश: कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न निर्देशन

२०८३ बैशाख २, बुधबार
सर्वोच्च अदालतको आदेश: कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न निर्देशन

सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता दीपक खड्कालाई हाल थुनामै राख्न आदेश दिएको छ। खड्काकी पत्नी विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइपछि अदालतले यस्तो आदेश जारी गरेको हो।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले खड्कालाई हालको अवस्थामै राख्न सम्बन्धित पक्षलाई निर्देशन दिँदै थप आदेशसमेत जारी गरेको हो। अदालतले यस मुद्दाको अर्को सुनुवाइ भोलि (वैशाख ३) का लागि तोकेको छ।

सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल तथा अधिवक्ता प्रकाश रेग्मीले बहस गरेका थिए। सरकार पक्षबाट नायव महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस प्रस्तुत गरेका थिए।

दीपक खड्का चैत १५ गते पक्राउ परेका थिए। पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका उनलाई भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा उनको घरमा भेटिएको जलेको रकम सम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको घरबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरी अनुसन्धान गरिरहेको छ। जेनजी आन्दोलनका क्रममा उनको घरमा भएको तोडफोड र आगजनीपछि जलेका नोट तथा अन्य सामग्रीका भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर