काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ प्रक्रियाको प्रगति विवरण अब आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ। पारदर्शिता बढाउने उद्देश्यले केन्द्रले छपाइ भएको तथा बाँकी लाइसेन्सको विवरण नियमित रूपमा अपडेट गर्न सुरु गरेको हो।
केन्द्रका पछिल्लो तथ्याङ्क अनुसार हालसम्म ३ लाख ५४ हजार १७४ थान लाइसेन्स छापिएका छन्। यातायात व्यवस्था विभागसँग भएको १२ लाख थान लाइसेन्स छपाइ सम्झौताअनुसार अझै ८ लाख ४५ हजार ८२६ थान कार्ड छाप्न बाँकी रहेको देखिएको छ।
इमर्जेन्सी कोटाअन्तर्गत ३४ हजार २६६ थान लाइसेन्स छापिसकिएको छ भने ९४० थान प्रक्रियामा छन्। त्यस्तै, पुरानो ब्याकलगतर्फ ३ लाख १९ हजार ९०८ थान लाइसेन्स छापिएको र १ लाख ७५ हजार ५९८ थान छपाइ प्रक्रियामा रहेको केन्द्रले जनाएको छ।
केन्द्रका कम्प्युटर इन्जिनियर विशाल कटुवालका अनुसार चैत २६ गतेदेखि वेबसाइटमा प्रगति विवरण सार्वजनिक गर्न थालिएको हो। उनका अनुसार कार्ड तयार भएसँगै विभागलाई बुझाइने र त्यसपछि तथ्याङ्क अपडेट गरिने व्यवस्था गरिएको छ।
उनले हाल वेबसाइटमा उपलब्ध विवरण २७ चैतसम्मको भएको जानकारी दिए। सार्वजनिक बिदाका कारण केही दिन ढिलाइ भए पनि सोमबार करिब ४० हजार थान लाइसेन्स छापेर विभागलाई बुझाइएको र थप कार्डहरू आज (बुधबार) पनि हस्तान्तरण गरिने उनले बताए।
यसअघि १२ कात्तिक २०८२ मा ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने गरी केन्द्र र विभागबीच सम्झौता भएको थियो। उक्त सम्झौताको म्याद १२ वैशाखमा सकिँदै छ। निर्धारित समयभित्रै सम्पूर्ण लाइसेन्स छाप्ने गरी कामलाई तीव्र बनाइएको केन्द्रले जनाएको छ।







