चितवन । नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश कुमार घिमिरेले सरकाले लागू गर्न लागेको विक्री गरिने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी)को विषयले व्यवसायीहरु समस्यामा परेको बताएका छन्।
मोबाइल व्यवसायीले वर्षौंदेखि विक्री नभएका र स्टक रहेका सामानहरुको स्टक १५ दिनमा नै सकाउन वा फिर्ता गर्न सम्भव नभएको भन्दै उनले थप समय दिन सरकारसँग आग्रह गरे।
‘रिटेल ब्यवसायीले वस्तुको मुल्य राख्ने होइन, आयातकर्ता र उत्पादनकर्ताले मूल्य तोकेर दिनुपर्छ, अधिकतम खुद्रा मूल्य तोकेर दिइयोस हामी कार्यान्वयन गर्छौं, तर विगतमा स्टक रहेका नबिकेका सामान १५ दिनमा नै बेच भनेर सकिंदैन, फिर्ता पठाउन पनि सम्भव छैन, सरकारले पर्याप्त दिएर समय बढाओस हामी सरकारको एमआरपीको निर्णय मान्छौं,’ घिमिरेले भने।
मोबाइल ब्यवसायीहरुले मोबाइल कम्पनीहरुबाटसमेत पछिल्लो समय असहयोग भोग्दै आइरहेको तर्फ पनि घिमिरेले असन्तुष्टि जनाए।
उनले किस्ताबन्दीमा मोबाइल विक्री गर्दा सो को मूल्य वापतको किस्ता उपभोक्ताले समयमा नतिर्दा खुद्रा व्यवसायीहरु समस्यामा पर्न थालेको गुनासो गरे।
‘व्यवसायीहरुले मोबाइल कम्पनीहरुबाट पनि पछिल्लो समय असहयोग भोग्दै आइरहेका छन्, किस्ताबन्दीमा मोबाइल विक्री गर्दा सो को मूल्य वापतको किस्ता उपभोक्ताले समयमा नतिर्दा खुद्रा कम्पनीले ब्यवसायीहरुलाई ब्ल्याक लिस्टमा पार्न थालेका छन, ईएमआइको पेमेन्टसँग व्यवसायीलाई सरोकार नै हुंदैन, कम्पनीले सबै भेरिफिकेसन गरेर अप्रुभ गरेपछि हामीले दिने हो, हामी सबै जिम्मेवारी लिन सक्दैनौं,’ घिमिरेले भने।
महासंघको बागमती प्रदेशको साधारणसभा सौराहामा सुरु
यता, नेपाल मोबाइल ब्यवसायी महासंघ बागमती प्रदेशको तेस्रो वार्षिक साधारणसभा चितवनको सौराहमा सुरु भएको छ।
साधारणसभाको शनिबार केन्द्रीय उपाध्यक्ष रमेश कुमार घिमिरेले उद्घाटन गरेका छन्। साधारणसभामा महासंघको बागमती प्रदेशका १३ जिल्लाका जिल्ला नेतृत्व र कार्यसमिति सदस्य सहभागी रहेका छन्।
साधारणसभामार्फत ब्यवसायीका मुद्दालाई एकीकृत गर्दै केन्द्रीय समितिसमक्ष बुझाइने प्रदेश अध्यक्ष एसिस रिजालले जानकारी दिए।
साधारणसभामा प्रदेश भित्रका ब्यवसायीले भोग्दै आएका समस्यालाई साझा गर्ने र सहकार्यका साथ अघि बढ्ने लक्ष्य लिइएको अध्यक्ष रिजालले जानकारी दिए।






