काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि थप म्याद नथप्न परमादेश जारी गरेको छ।
सोमबार न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि हिरासत लम्ब्याउन नपाइने आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौंले गत चैत २१ गतेदेखि लागू हुने गरी तेस्रोपटक ५ दिनका लागि म्याद थप गरेको थियो। सर्वोच्चको आदेशसँगै उक्त म्याद समाप्त भएपछि अर्थात् चैत २६ गते ओली र लेखक हिरासतमुक्त हुनेछन्।
सर्वोच्चको परमादेशमा म्याद थपिएको ५ दिनको अवधिभित्रै अनुसन्धान सम्पन्न गरी मुद्दा चल्ने वा नचल्ने निर्णय गर्न भनिएको छ। निर्धारित समयभित्र प्रहरीले अदालतमा मुद्दा नबुझाएमा उनीहरूलाई प्रक्रिया पूरा गरी साधारण तारेख वा धरौटीमा हिरासतमुक्त गरेर मात्र बाँकी अनुसन्धान गर्नुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ।





